१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


प्रचण्डलाई नारायणकाजीको सन्देश : नेतृत्वको जिम्मेवारी सम्हाल्न तयार छौँ


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरुले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिनेकुरा अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो । उहाँले माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भएपनि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशपूर्ण ढंगले प्रश्तुत हुन नहुने पनि बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको पनि बताउनुभयो । उहाँले अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने आशंका व्यक्त गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरु अब चलाउनुस् भनेर कुनै दिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ । अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गर्नुभयो ।