एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजाको खान युनिस शहरबाट दुई दिनको अवधिमा १ लाख ५० हजारभन्दा बढी मानिस पलायन भएका छन् ।
संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार गाजापट्टीका दक्षिण क्षेत्रमा रहेको खान युनिस केन्द्रित आक्रमण तीव्र भएपछि उनीहरु पलायन भएका हुन् ।
इजरायली सैन्य आक्रमणको केन्द्रबिन्दु बनेको उक्त शहरमा हमासका सेनाहरुको तैनाथी बढेपछी दिनानुदिन आक्रमण तीव्र हुन थालेको हो । आक्रमणमा दुई दिनमा ७० जनाको मृत्यु भइसकेको छ ।
यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले खान युनिसको पूर्वी भागहरू खाली गर्ने आदेश जारी गरेको थियो । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाही सुरु भएदेखि खान युनिसमा मात्रै १२ सय प्यालेस्टाइनी मारिएका छन् ।
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र एजेन्सीका अनुसार पलायन भएकाहरु खान युनिस शहरभन्दा २ सय किलोमिटर टाढा अस्थायी शिविर बनाइ खुला चौरमा बस्न बाध्य भएका छन् । जसका कारण उनीहरु खानपानबाट समेत बञ्चित हुँदा महिला र बालबालिकाको बिचल्ली भएको छ ।
प्रतिक्रिया दिनुहोस्