१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


नयाँ सरकारसँग मधेश प्रदेशबासी छैनन् सन्तुष्ट


0
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर सत्ता समीकरण बनेको छ ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । तर दुई ठूला पार्टीबीचको सत्ता सहकार्यले कतै निरंकुशतालाई प्रश्रय गर्दैन भन्ने आम मानिसको आँकलन छ ।

निजी क्षेत्र, शिक्षक, कर्मचारीतन्त्र, कानूनकर्मीहरु नयाँ सरकारप्रति आशातित देखिन्छन् । नयाँ मन्त्रीहरुलाई भेट्न सिंहदरबार भरिभराउ छ । तर सत्ता समीकरणपछि पनि मधेस प्रदेशका आम नागरिकहरु भने सन्तुष्ट छैनन् । उनीहरु सत्ता सहकार्यका लागि मात्रै गठबन्धन बनेको भन्दै यस सरकारले नागरिकमा कुनै कुराको फरक नपार्ने बताउँछन् । मधेश प्रदेशका अधिकांश नागरिकहरुले आफू जोगिनका लागि सरकार बनाएको जिकिर गरे ।

पेशाले वरिष्ठ अधिवक्ता रहनुभएका जनकपुरका किशोरी साह देशमा आएका नयाँ सत्ता समीकरणलाई हेर्दा आफू जोगिनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताउनुहुन्छ । उहाँले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने संकल्पका साथ देश विकासमा लागेको खण्डमा मात्रै सरकार देशका लागि लाभदायी बन्ने बताउनुभयो ।

नेपाल बौद्धिक प्रतिष्ठानमा कार्यरत विष्णु कुँवर राजनीतिक परिवर्तनले जनतामा कुनै उत्साह नआएको बताउनुहुन्छ । पछिल्ला कुनैपनि सरकार जनताको सरकार बन्न नसकेको बताउनुभयो । राजनीतिक दलको सरकार कुनैपनि व्यक्ति सरकामा गएर केही उपलब्धि नहुने बताउनुभयो ।

अर्का मधेस प्रदेशको धनुषाका नागरिक कुनैपनि सरकार स्वार्थका लागि मात्रै बन्ने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । अर्का नागरिक भने अहिलेको अवस्थामा राजीतिक परिवर्तन हुनुले केही अर्थ नराख्ने बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा लगायतका आम नागरिकका समस्या समाधानका लागि राजनीतिक दलहरुको दृष्टिकोण नरहेको बताउनुभयो । त्यस्तै अर्का नागरिकले राजनीतिक व्यक्तिले आफूलाई स्वार्थ मिल्ने किसिमले मात्रै हेर्ने गरेको बताउनुभयो । देशका जनता के चाहन्छन् भन्ने कुरामा कुनैपनि राजनीतिक दलहरु गम्भीर नरहेको बताउनुभयो ।

उनीहरुले राजनीतिक अवस्थासँग सन्तुष्ट हुने ठाउँ नरहेको बताए । विपक्षी र पक्ष नै मिलेर सरकार बनाएपछि भ्रष्टाचार छोपिने बताए ।