२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


ग्वार्को फ्लाई ओभरको काम अझै सकिएन (तस्बिरहरु)


1.04k
Shares

शुरज थपलिया

काठमाडौं । पछिल्लो समय ट्राफिक व्यवस्थापनका लागि सरकारले शहरका विभिन्न चोकहरूमा आकाशे पुल, अण्डरपासजस्ता आधुनिक संरचनाहरूसमेत निर्माण गरेको छ । सो क्रममा कलंकी अण्डरपास, नागढुंगा सुरुङ मार्ग, फास्ट ट्रयाक आदि जस्ता राष्ट्रिय गौरवको दिगो आयोजना पनि निर्माण भइरहेका छन् ।

ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै नेपालमा पहिलो पटक ग्वार्को फ्लाई ओभर निर्माण हुँदैछ । जुन अहिले सर्वसाधारणका लागि निकै चासोको विषय बनेको छ ।

सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले ग्वार्कोको फ्लाइ ओभरमा असारसम्ममा गाडी कुद्ने बताउनुभएको थियो । अहिले फ्लाइओभर निर्माणको अवस्था हेर्दा असार मसान्तसम्म गाडी नगुड्ने पक्का भएको छ ।

ललितपुरस्थित ग्वार्को चोकमा फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । विभागले २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

उक्त सम्झौताअनुरूप निर्माण कम्पनीले कार्य योजना, डिजाइन, इन्जिनियरिङ, खरिद तथा अण्डरपास सडकसहित चार लेन सडक भएको फ्लाई ओभरको निर्माणका लागि इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा करसहित ठेक्‍का कबुल गरेको थियो । सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो ।

चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो ।

पछिल्लो डिजाइनअनुसार कस्तो बन्दै छ फ्लाई ओभर ?

फ्लाई ओभरको लम्बाइ करिब ५ सय मिटर र उचाइ ९ मिटर हुने विकास केन्द्रले जनाएको छ । चक्रपथको कोटेश्वर-कलंकी खण्डमा विस्तार गरिएको ८ लेन सडकको बीचको ४ लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्ने छन् भने फ्लाई ओभरमुनिबाट मंगलबजार/इमाडोल/मंगलबजार चल्ने सवारीले आवतजावत हुने सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएकोमा निर्माणाधीन फ्लाई ओभरको उचाइ ९ मिटरको हुने छ । जसको र्‍याम बालकुमारीतर्फबाट ३ सय २० मिटर लामो र सातोबाटोतर्फबाट १ सय ८५ मिटर लम्बाइको निर्माण हुन लागेको छ ।

बीचको सुपर स्ट्रक्चर को लम्बाइ भने ३५ मिटर लामो हुने निर्माण कम्पनीका परियोजना निर्देशक विशाल कार्कीले बताउनुभयो । बालकुमारी आकाशे पुलबाट बी एण्ड बी हस्पिटलको सडक खण्ड सिधा नभए पनि अहिलेको डिजाइनअनुसार फ्लाई ओभर सिधा नै निर्माण हुनेछ र कोटेश्वरपट्टि भने जमिनअनुसारको घुमाउरो हुने छ ।