काठमाडौं । वर्षायाममा पोखरीहरुमा कमल ढकमक्क फुल्ने समय हो । तर विडम्बना, उपत्यकाभित्र धेरै पोखरीहरु अतिक्रमणमा परेर मासिएका छन् । कमल फुल्ने पोखरीहरुमा गगनचुम्बी महल ठडिएका छन् । अतिक्रमण विरुद्धको लडाइ जितेका केही पोखरीमा भने पाँच दशकपछि कमल फेरि फुल्न थालेको छ ।
वर्षायामको झरीबीच पोखरी वा तलाउमा कमल ढकमक्क फक्रिएको मनमोहक दृष्य कसलाई मन नपर्ला र ? भक्तपुर, बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः मा यति बेला फक्रिएको कमल फूलको दृष्यले सबैको ध्यानाकृष्ट गरेको छ । अहिले यो कमल पोखरीले मध्यपुर थिमी नगरपालिकाको सौन्दर्य मात्रै बढाएको छैन टाढा टाढाबाट मानिसहरु घुम्न आउने थलो पनि बनेको छ । पवित्र कमल सहितको पोखरी प्रेमी प्रेमिका मिलनको सुन्दर बगैचा बनेको छ ।
पोखरी हेर्दा जति रमाइलो छ, इतिहास भने उत्तिकै दुखद छ । यहाँ पुनः कमल फुलाउन करिब ५० वर्ष संघर्ष गर्नु परेको थियो । सार्वजनिक पोखरी पटक पटक व्यक्तिको नाममा दर्ता भई अतिक्रमणम परेको थियो । स्थानीयको सक्रियतामा कानूनी लडाई जितेर विक्री भएको ५ दशक पछि पोखरी आफनो पुरानै स्वरुपमा फर्किन सफल भएको हो । १५ रोपनी ९ आनामा फैलिएको यो पोखरीमा कमल फुलेको देख्दा शिवहरि मोहे श्रेष्ठको मन फुरुगं छ । यही पोखरीमा फुलेको कमल फूल तलेजु भवानी र नीलबाराही नाचमा चढाउनु पर्ने परम्परा रहेको छ । कमल फूलको पातमा नै तलेजु भवानीका पुजारीले भोज खानु पर्ने चलन रहेको छ । काठमाडौं बालुवाटार निवासी मजरमान श्रेष्ठ कमल फुलेको देख्दा बुढेसकालमा पनि उमङ्ग भएको बताउनुुहुन्छ ।
नगरपालिकाले हाल संरक्षणको कार्य गर्दे आएको छ । आफनो बाल्यकालको याद ताजा भएको भन्दै शिवहरि यो सफताबाट अरुले पनि सिक्नु पर्ने बताउनु ह्ुन्छ ।
हाम्रा परम्परागत, धार्मिक र सांस्कृतिक मौलिकता बोकेका पोखरीहरुलाई संरक्षण गर्नु अति आवश्यक छ । अतिक्रमणमा परेका अन्य पोखरीहरुलाई पनि यसैगरी पुनर्जिवित गर्न सके शहरी सौन्दर्य मात्रै बढ्ने थिएन, पर्यावरण जोगाउन पनि उत्तिकै योगदान हुने थियो ।
प्रतिक्रिया दिनुहोस्