२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


काठमाडौंका सबै सडक पोलमा ‘स.वि.’


5.733k
Shares

काठमाडौं । कहीँ नभएको जात्रा हाँडीगाउँमा भने झैं सडक विभागले काठमाडौंका सडकका पोल–पोलमा सडक विभाग लेख्दै हिंडेको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले गाडेका पोलहरुमा “स.वि” लेखेर सडक विभागले अनाधिकृत स्वामित्व लिने दुस्प्रयास गरेको भन्दै आलोचना पनि भईरहेको छ ।

काठमाडौं जिल्लाभित्रका ४ सय ७२ किलोमिटर बाटो सडक डिभिजन कार्यालय, काठमाडौंको क्षेत्राधिकारभित्र पर्दछ । त्यस मध्येको १ सय ४८ किलोमिटर सडक भने काठमाडौं महानगरपालिकाभित्र पर्दछ । १ सय ४८ किलोमिटर सडकमध्ये ८ मिटरभन्दा फराकिलो सडकको जिम्मा पनि सडक डिभिजन कार्यालयकै भएको दाबी गरिएको छ । त्यही स्वामित्व देखाउन सडक डिभिजन कार्यालय काठमाडौंले अहिले सडक किनारका पोल–पोलमा सडक विभाग अर्थात ‘स.वि.’ लेखिरहेको छ ।
सडक विभागले पोल पोलमा सवि लेख्न थालेपछि यसको सर्वत्र आलोचना पनि भईरहेको छ ।

सामाजिक सञ्जालहरुमा सडक विभाग र विभागका कर्मचारीहरुलाई उडाउने क्रम जारी छ । कतिपयले त काठमाडौंका मेयर बालेन शाहसंगको टक्करपछि सडक विभागले आफ्नो काम देखाउन यस्तो लेख्दै हिंडेको आरोप पनि लगाईरहेका छन् । सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता प्रमोद खतिवडा भने महानगरभित्र मात्रै नभई काठमाडौं जिल्ला भरिका सडकका पोलमा सवि लेखिने बताउनुहुन्छ ।

सडक विभागले आफ्नो मातहतका सडक कुन–कुन हुन् भनेर सर्वसाधारण तथा सरोकारवाला निकायलाई जानकारी दिन सडकछेउका पोलमा पहिचान उल्लेख गर्ने योजना गत मंसिरमै बनेको दाबी पनि उहाँको छ । यता काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने विजुलीको तारका लागि राखिएका पोलको स्वामित्व लिन खोज्ने सडक विभागले पोलमा टाँगिएका तार र बेला बेलामा आउने समस्याको जिम्मा पनि लिनुपर्ने बताउनुहुन्छ ।

तर सडक डिभिजन कार्यालयका प्रवक्ता भने नेपाल विद्युत् प्राधिकरणले सडक विभागको अनुमति लिएर पोल राखेको भन्दै आफ्नो क्षेत्राधिकारमा रहेका पोलमा नाम लेख्दा टिकाउ हुने देखेर सवि लेखिएको दाबी गर्नुहुुन्छ ।

सडक छेउमा पोल राख्ने र झिक्ने जिम्मेवारीमा रहेको नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । प्राधिकरणले सवि लेख्दैमा बिजुलीका पोल सडक विभागको नहुने बताएको छ ।