Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु


208
Shares

काठमाडौं । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताउनुभयो । उहाँले पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएको र ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएको बताउनुभयो ।

कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भइ ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको उल्लेख गर्नुभयो । उहाँले चट्याङबाट ३२ जिल्ला प्रभावित भइ ९३ वटा चट्याङका घटना भएको र जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएको बताउनुभयो । उहाँले सबै विपद्का घटनाबाट १७१ पशुचौपायाको क्षति भएको बताउनुभयो ।

मन्त्री अर्यालले विपद् व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यान्वयनमा ल्याइएको बताउनुभयो । उहाँले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आँकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न निकायलाई क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको जानकारी गराउनुभयो ।