३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


मन्त्री र सांसदहरुले समय दिन नसक्दा कानून बन्न ढिला भयो : सभापति थापा


312
Shares

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरु उपस्थित हुन नसक्दा कानून निर्माणमा ढिलाइ भइरहेको बताउनुभएको छ ।

बिहीवार बसेको समितिको बैठकमा बोल्दै सभापति थापाले विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा सांसद र मन्त्रीलाई बैठकमा उपस्थित हुन आग्रह गरेपनि समय छैन भन्दै टार्ने गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

सभापति थापाले बैठक बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानून निर्माण गर्न समय लाग्ने गरेको बताउनु भयो । उहाँले समयसँगसँगै समितिमा आएका विधेयकहरुको छलफलका लागि प्राथमिकता दिन सांसदहरुसँग आग्रह गर्नुभयो ।

सभापति थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गर्नू भन्ने पत्र समितिलाई पठाएको भन्दै मन्त्रालयको जिम्मेवारी बाहिरको कुरा भएको बताउनुभयो । उहाँले समितिलाई मन्त्रालयले पत्राचार गरेर यसलाई गर्, यसलाई नगर् भन्ने आदेश दिने ठाउँ नभएको बताउनुभयो । मन्त्री सम्बन्धित समितिमा समितिले बोलाएको समयमा उपस्थिति हुनैपर्ने बताउनुभयो ।

सभापति थापाले भन्नुभयो, ‘बैठक गर्ने, बैठक एक, दुई घण्टामा फुर्सद छैन भनेर हिँड्ने, कहिले बैठक गरेर कोरम नपुग्ने, कहिले मन्त्रीको फुर्सद नहुने गरेर कानून बन्दैनन् । बैकठ बोलायो कोरम पुग्दैन । एक घण्टा कुर्नपर्ने अवस्थाको सिर्जना भयो । समयलाई पनि ध्यान दिनुपर्छ र प्राथमिकता पनि दिनुपर्छ । …….समितिले भनेपछि आउनु पर्छ । संसदमा अनुपस्थित भएपछि संसद चल्दैन भन्नेकुरा त, मन्त्री अनुपस्थित भएपछि चल्दैन भन्नेकुरा हो ।’

सभापति थापाले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा विधेयकलाई संसदमा पेश नगरेसम्म मन्त्रीको प्रश्ताव आएपनि आफू नजाने प्रतिवद्धता जनाउनुभयो ।