Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


विभिन्न विपद्जन्य घटनामा १४ जनाको मृत्यु


234
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घटनामा हालसम्म १४ जनाको मृत्यु भएको र दुई जना अझै बेपत्ता भएको जनाएको छ ।

घटनामा १० जना घाइते भएको र १९ लाखभन्दा बढी आर्थिक क्षति भएको प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी पनि दिनुभयो ।

प्राधिकरणले पहिरोबाट आठ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जनाएको छ । चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु, दुई जना बेपत्ता र एक जना घाइते भएका छन् ।

प्रवक्ता भट्टराईले ओखलढुङ्गाको चिसङगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको बताउनुभयो ।

विपद्ले ओखलढुङ्गा, संखुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको उहाँले बताउनुभयो ।