
काठमाडौं, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका अभिभावकले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
घटना भएको दुई महिना बित्न लाग्दा पनि अपराधी पत्ता नलागेपछि राजधानीमा हारगुहार गर्न आइपुगेका निर्मलाका बाबु यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र अधिकारकर्मीहरुले गृहमन्त्री थापालाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अपराधीलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने आश्वासन दिएको निर्मलाका बाबु यज्ञराजले बताए ।
तर, गृहमन्त्री थापाले पनि अपराधी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिलाउने भरपर्दो आधार दिन नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।
ज्ञापनपत्र बुझाउनेक्रममा सन्चारकर्मीहरुलाई भने भित्र जान दिइएन ।
प्रतिक्रिया दिनुहोस्