
काठमाडौं, भदौ २९ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति नियुक्ति प्रक्रियाप्रति चिकित्सकहरुले विरोध जनाएका छन् ।
सरकारी चिकित्सक संघ, फ्याकल्टी डक्टर्स एसोसिएसन र रेजिडेन्टस् चिकित्सकहरुले न्याम्सभन्दा बाहिरबाट उपकुलपति नियुक्ति गर्न लागेको भन्दै विरोध गरेका हुन् ।
उनीहरुले शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं उपकुलपति छनोट समितिका सदस्य डा. सुशील प्याकुरेललाई भेटी ज्ञापनपत्रसमेत बुझाएका छन् ।
प्रक्रियाअनुसार उपकुलपति नियुक्त नभए आफूहरु कडा आन्दोलनमा जाने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
फ्याकल्टी डक्टर्स एसोसिएसनका अध्यक्ष डा. मनेन गोर्खालीले नियम मिचेर न्याम्सको उपकुलपति नियुक्त गरेमा मान्य नहुने बताए ।
यस्तै, चिकित्सक डा. श्रीकृष्ण गिरीले अवकाश पाइसकेका चिकित्सकलाई उपकुलपति नियुक्त गर्ने मापदन्ड खारेज गर्नुपर्ने बताए ।
न्याम्सका उपकुलपति डा. गणेश गुरुङले अवकाश पाएपछि सरकारले उपुकलपति नियुक्तिका लागि आवेदन खुलाएको थियो ।
उपकुलपति नियुक्तिका लागि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वका डा. सुशील प्याकुरेल र मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटासहितको समिति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्