प्रतीक्षा खनाल/देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, भदौ २९ । पछिल्लो दिनमा ‘डीएनए’ परीक्षण शब्द निकै चर्चामा आएको छ ।
आनुवंशिक सूचना बोक्ने डीएनए हरेक जीवमा भिन्न हुने भएकाले यसको परीक्षणले विभिन्न खोज, अनुसन्धानमा सहयोगी भूमिका खेल्ने गर्दछ । त्यसैले यसको प्रयोग अनुसन्धानमा बढ्दै गएको छ ।
सूक्ष्म जीवाणुदेखि जीवित सबै प्राणीको हरेक कोषिकामा डीएनए हुन्छ । डीएनएको पूरा नाम ‘डीओक्सीराइबो न्यूक्लिक एसिड’ हो । डीएनएले आनुवंशिक सूचना बोक्ने गर्दछ ।
कुनै व्यक्तिको डीएनए अर्को व्यक्तिसँग मिल्दैन । त्यसैले यसलाई व्यक्तिगत पहिचानसँग जोडेर लिनसकिन्छ ।
डीएनएको परीक्षण गर्ने पद्धति वैज्ञानिकले सन् १९८४ मा पत्ता लगाएका थिए । डीएनए परीक्षणमा दुई जैविक नमुनाकाबीचमा कत्तिको समानता छ भन्ने तुलना गरिन्छ ।
डीएनए परीक्षणमा सबैभन्दा पहिले डीएनए भएको वस्तुको नमुना संकलन गरी नमुना सामग्रीबाट कोषिका निकालिन्छ ।
नमुनामा रगत, शरीरबाट निस्किएको तरल पदार्थ, शरीरका अंगप्रत्यंगको कुनैपनि भाग, छाला, केशको केही भाग हुनसक्छन् ।
उक्त कोषिकाबाट डीएनए नमुनालाइ पृथकीकरण गरी नतिजालाई विश्लेषण गर्ने कार्य गरिन्छ । जसलाई ‘डीएनए प्रोफाइलिङ’ भनिन्छ । यसरी निकालिएको ‘प्रोफाइल’लाई डीएनएको ‘औंठाछाप’ पनि मानिन्छ ।
यही औंठाछापलाई अर्को नमुनासँग दाँजेर समानता अध्ययन गरिन्छ । समानताको आधारमा नै परीक्षणको नतिजा निकालिन्छ । डीएनए परीक्षण फोरेन्सिक अनुसन्धान, पितृत्व परीक्षण तथा अन्य जैविक अनुसन्धानमा प्रयोग गरिन्छ ।
डीएनए परीक्षणका लागि केही दिनदेखि हप्तौं लाग्ने गरेता पनि परीक्षणले शतप्रतिशत सही नतिजा दिने डा. हरिहर वस्ती बताउँछन् ।
आपराधिक घटना अनुसन्धानकाक्रममा गरिने डीएनए परीक्षणले कुनैपनि व्यक्ति घटनास्थलमा उपस्थित भएको प्रमाणित गर्ने डा. वस्ती बताउँछन् ।
विज्ञानको यो खोजले सामान्य अनुसन्धानबाट नतिजा निकाल्न नसकिने अपराधको वास्तविकता पत्ता लगाउन ठूलो मद्दत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्