११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


नेपालभित्र तस्करीका सामान पक्राउ, सीमाका सशस्त्र प्रहरी बेखबर


403
Shares

बारा । तस्करी नियन्त्रण तथा सीमा सुरक्षामा सशस्त्र प्रहरी खटिए पनि बाराका विभिन्न स्थानबाट नेपाल प्रहरीले तस्करीमा संलग्न सयौै व्यक्ति, करोडौंको मालसामान र दर्जनौ सवारी साधन पक्राउ गरेको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा जिल्ला प्रहरी कार्यालय कलैयाले जितपुर, सिमरा, निजगढ, पथलैया, अमलेखगञ्ज लगायतका स्थानहरुबाट तस्करीमा संलग्न ८ सय १ व्यक्ति, ५२ करोड १२ लाख बढीको सामान, ७१ वटा ट्रक, १९ वटा पिकअप भ्यान र ३७ वटा मोटरसाइकल पक्राउ गरेको हो ।

सीमा नाकामा तस्करी रोक्न सशस्त्र प्रहरी परिचालन हुने गरेपनि तस्करहरूले नाका छलेर ल्याएको ठूलो परिमाणमा तस्करीका सामानहरु जिल्लाकै विभिन्न स्थानमा प्रहरीले बरामद गर्ने थालेपछि सीमामा खटिने सशस्त्रका सुरक्षाकर्मी माथि प्रश्न उठन थालेको छ ।

सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न करीब ४ सय सशस्त्र प्रहरी १२ वटा युनिटअन्तर्गत परिचाचित हुने गरेको छ भने तस्करी नियन्त्रण गर्न एक अधिकृतको कमाण्डमा रोक्न राजमार्गको पथलैयामा राजस्व प्रहरी ईकाइ समेत खडा गरेको सशस्त्र प्रहरी १२ नम्बर गण उत्तरी झिटकैयाले जनाएको छ ।

सीमामै परिचालित सशस्त्र प्रहरीको कमजोरीका कारण तस्करहरुले सिमावर्ती क्षेत्रका स्थानीयकै घरलाई प्रयोग गदै उनीहरुलाई ओसार पसारमा सहभागी बनाइ साना तथा ठुला सार्वजनिक र निजी सवारी साधनबाट तस्करी गराउने गरेको पाइएको छ ।

तस्करीका सामानले स्थानीय बजारमै दबदबा बढाएपछि राजस्व तिरेर वैध व्यापार गर्नेहरु मुल्य अन्तर हुँदा व्यापार छाडने क्रम तिब्र बनेको उद्योग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहले बताउनुभयो ।