Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


झापामा पनि मनाइयो दुग्ध दिवस


247
Shares

काठमाडौं । २४ औैं अन्तर्राष्ट्रिय दुग्ध दिवसको अवसरमा झापामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । यसै अवसरमा दुग्ध व्यवसायको प्रवर्द्धन भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाइने क्रममा यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक, डा. बालक चौधरीको सभापतित्वमा तथा कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभयो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्ने बताउनु भएको हो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दूधमा आत्मनिर्भर भएरमात्र नपुग्ने र यसको विदेश निर्यात अपरिहार्य भएको बताउनुभयो भने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल्ले दूधबाट बनेका वस्तुहरू निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दूधको भुक्तानी गर्न कुनै समस्या नहुने बताउनुभयो ।

यस्तै किसानहरूलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरूलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिइनु पर्ने सिडिक्यानका अध्यक्ष अमर कुँवरले बताउनुभयो । दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दूधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक एवं कार्यक्रमका सभापति डा बालक चौधरीले सरोकारवाला सबैलाई धन्यवाद दिंदै बोर्ड जहिले पनि दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनमा लाग्ने प्रतिवद्धता व्यक्त गनुभयो ।

दिवसको अवसरमा झापाको एनएमसी फार्मले गरेको कार्यक्रममा दुग्ध पान र यसको महत्वबारे सरोकारवालाहरुले प्रकाश पारेका थिए । कार्यक्रममा उपस्थित सबैलाई दूध तथा दुग्ध पदार्थ सेवन गराइएको थियो भने दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।