३ असार २०८१, सोमबार | Mon Jun 17 2024


आजदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप


728
Shares

काठमाडौं । सरकारले आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान आज आइतबारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अभियानमार्फत छुटेका बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।

पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र मृत्युसमेत हुन सक्छ । पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई संक्रमित बनाउने गर्छ ।

नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन । विश्वव्यापी रूपमा यो खोपको अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप लगाउन पाएका थिएनन् । त्यस बेला खोप नपाएका बालबालिकामा पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।