
काठमाडौं । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबारभन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष लोहनीले यस्तो बताउनुभएको हो । उहाँले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठूला आयोजनाहरुमा काम गर्ने वातावरण व्यवसायीहरुले बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष लोहनीले सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको बताउनुभयो । उहाँले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष लोहनीले स्थानीय तहहरुले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित शहर बनाउन सकिने बताउनुभयो । उहाँले अब साना व्यवसायीहरु मिलेर कम्पनी बनाउने र कम्पनीहरु पनि मर्ज भएर ठूलो पुँजी भएका कम्पनी बनाएर ठूला आयोजनाहरुमा काम गर्न आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष लोहनीले भन्नुभयो, ‘नेपाली व्यवसायीहरुले छरिएको पुँजीबाट व्यक्तिगत कारोबार गर्ने होइन । संयुक्त कम्पनीको रुपमा काम गर्नु आवश्यक छ । त्यसको लागि व्यवसायीहरु पनि लाग्नुपर्छ र व्यवस्थित शहर बनाउनुपर्छ । त्यसका लागि सरकारले ल्याण्ड पुलिङ खुला गर्नुपर्छ । त्यसको लागि शहरी ऐन बनाउन आवश्यक रहेको छ ।’
अध्यक्ष लोहनीले सरकारले ल्याण्ड पुलिङ खुला गरी शहरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्