
काठमाडौं । नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सँगको पाँचौं तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै श्रृंखलाको सुखद् अन्त्य गरेको छ ।
नेपालले यसअघि नै श्रृंखला ३–१ ले गुमाइसकेको थियो । तर अन्तिम खेलमा शनिवार ब्याटिङ र बलिङ चलेपछि नेपालले पाँच खेलको श्रृंखलामा सुखद् अन्त्य गरेको हो । पहिलो खेल आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमाउँदै एक खेल अगावै श्रृंखला सुम्पिएको थियो । त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य नेपालले अन्तिम ओभर आगावै पूरा ग¥यो । यस क्रममा ओपनर आसिफ सेख र अनिल साहले अर्धशतकीय इनिङ खेले ।
आसिफ ५१ रन र अनिल ५८ रनमा आउट भए । यी दुईले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी जित आधार तय गरे । पाहुना टोलीका बलर ओबेद म्याककोएले १४औं ओभरमा आसिफ आउट गर्दै यो साझेदारी तोडेका हुन् । आसिफले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । त्यसपछि तेस्रो विकेटका लागि अनिल र कुशल मल्लबीच २९ रनको साझेदारी भयो । यो साझेदारी पनि म्याककोएले नै तोडेका हुन् । उनले १७औं ओभरमा अनिललाई मार्क दियालद्वारा क्याच गराए ।
अनिलले ४५ बलमा समान चार चौका र छक्का हिर्काए । यो ओभरमा म्याककोएले कसिलो बलिङ गर्दै दबाब बनाउने प्रयास गरे । लगत्तै अर्को ओभरमा दीपेन्द्रसिंह ऐरी ५ रनमै आउट भए । विकेट पतन भएपनि ओभरमा नेपालले ९ रन जोड्यो । यससँगै नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २२ रन आवश्यक थियो । तर कुशलले १९ औं ओभरमा नै म्याककोएको बलिङमा लगातार बाउण्ड्री प्रहार गर्दै एक ओभर अगावै जित दिलाए । कुशलले १८ बलमा ३७ रन जोडे ।
उनको इनिङमा समान तीन चौका र छक्का रह्यो । त्यसअघि नेपालको सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई १३ रनमै आउट भए । म्याककोएले नै ब्रेक थ्रु दिलाएका हुन् । म्याककोएले ३.६ ओभरमा तीन विकेट लिँदा ३६ रन खर्चिए । म्याथ्यु फोर्डेको नाममा एक विकेट रहँदा अन्य बलर विकेटविहीन रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७२ रन जोड्यो ।
पाहुना टोलीले शुरुदेखि आक्रामक शुरुवात गरेको थियो । यद्यपि स्पिनर सागर ढकालले शीर्ष तीन विकेट लिँदै दबाब बनाए । उनी म्यान अफ दी म्याच पनि रहे । वेस्ट इण्डिज ‘ए’ का मध्य क्रमका ब्याटर एलिक अथानजे ४२ रनमा नटआउट रहे । यो नै पाहुना टोलीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कप्तान रोस्टन चेजले ३३ रन, ओपनर जोनसन चाल्र्सले २४ रन र म्याथ्यु फोर्डले २३ रन जोडे ।
नेपालको बलिङमा सोमपाल कामीले चार ओभरमा तीन विकेट लिँदै १६ रन मात्र दिए । अविनाश बोहराको नाममा एक विकेट रह्यो । यद्यपि उनले चार ओभरमा ४९ रन खर्चिए । श्रृंखलामा वेस्ट एण्डिज ‘ए’ का जोनसन चाल्र्स उत्कृष्ट ब्याटर र म्याककोए उत्कृष्ट बलर घोषित भए । नेपालका कप्तान रोहितकुमार पौडेल प्लेयर अफ दी सिरिज भए । उनले प्रतियोगितामा २६५ रन पनि जोडे ।
प्रतिक्रिया दिनुहोस्