Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


संसदको हिउँदे अधिवेशनको बैठक आजबाट अन्त्य हुँदै


416
Shares

काठमाडौं । आज संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्नेछ । आइतबार बिहान ११ बजेका लागि प्रितिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले आज रातिबाट संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको जनाएको हो ।

संसद बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूचीका बारेमा छलफल गरिने छ भने बैठकको अन्तिममा राष्ट्रपतिको अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउनु हुनेछ ।

आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ । चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्नुहुनेछ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मावि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्नुहुने कार्यसूची रहेको छ ।