१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


कीर्तिपुरमा रहेको दुई वटा प्राचिन पोखरी व्यक्तिको नाममा दर्ता


20.982k
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिका क्षेत्रमा रहेका दुई वटा प्राचिन पोखरीहरु व्यक्तिको नाममा दर्ता गरेको खुलासा भएको छ । व्यक्तिको नाममा दर्ता भए पनि अहिलेसम्म भोगचलन नभएको ती पोखरी जोगाउन स्थानीय बासिन्दा अहिले कस्सिएका छन् ।

प्राचिन पोखरीहरु सैन्य सुरक्षात्मक र भूमिगत जल प्रणाली सहितको कीर्तिपुरको नगर सभ्यताको गौरवंशाली पहिचान थिए । तर, समयक्रमसँगै यस्ता ऐतिहासिक पोखरीहरु विभिन्न कारणले नासिएर अस्तित्व नै समाप्त भईसकेको छ । भएका पोखरीहरुको पनि उचित संरक्षण हुन सकेको छैन । कीर्तिपुर नगरपालिका वडा नं ५ मा रहेका दुई वटा सार्वजनिक पोखरी समेत व्यक्तिको नाममा दर्ता भएको पाईएको छ । च्वय् दहन र क्वय् दहन नाम गरेका यी सार्वजनिक पोखरीहरु व्यक्तिको नाममा २०२४ सालमा नै ब्यक्तिको नाममा दर्ता भएको खुलासा भएको हो ।

नापी श्रेस्तामा समेत सार्वजनिक पोखरीहरु देखिने यी पोखरीहरु तत्कालिन भूमिसुधार राज्य मन्त्रीको तोक आदेशमा चोभारका तत्कालिन सहसेनानी हर्षजगं कार्कीको नाममा दर्ता भएको थियो । दर्ता भए पनि पोखरीहरुको भोग चलन भने कार्की परिवारले गरेको छैन तर हक हस्तान्तरण भने हुदै आएको पाइएको छ । २०७६ सालमा सरकारी सार्वजनिक र गुथी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगमा यस विषयमा उजुरी समेत परेको थियो । च्वय् दहन ५ रोपनी र क्वय् दहन ७ रोपनी भन्दा बढी रहेकाले भूमाफियाहरु अहिले यी पोखरी हत्याउन अनेकौं तिकडम गरिरहेको स्थानीयले बताएका छन् । अहिले त झन बाटो ११ मिटर मापदण्ड कायम गरेको एक पक्षयी रुपमा च्वय् दहन पोखरी मात्र मिचेर कंकीट संरचना निमार्ण गरिरहेको छ । सार्वजनिक पोखरी संरक्षण समितिका संयोजक बैकुण्ठ महर्जन यी पोखरीहरु बचाउन पहल गरिरहेको दावी गर्नुहुन्छ ।

क्वय् दहन पशुचौपायाको चरण क्षेत्र बनेको छ । कुनैबेला स्थानीय युवाहरुले माछा पालन पनि गर्ने गरेको यो पोखरी भूमाफियाहरुको निशानामा परेको स्थानीयको आरोप छ । पोखरी बचाउ अभियन्ता नजरराम महर्जन स्थानीय नै एकजुट हुनुको विकल्प नरहेको बताउनु हुन्छ ।

विभिन्न दलका कार्यकर्ता रहेको संरक्षण समितिका कारण पनि स्थानीयहरु विश्वस्त छैनन् । भागवण्डा मिलाएर पोखरी भूमाफियाहरुको पोल्टामा जाने आशंका पनि उनीहरुको छ । सोही स्थानमा रहेको अर्को एक सार्वजनिक पोखरी समेत मासेर सामुदायीक भवन बनाइसकिएको छ । परापूर्वकाल देखिका सम्पदा यस्ता सार्वजनिक पोखरी कसरी व्यक्तिको स्वामित्व गयो ? यस विषयमा गम्भिर अनुसन्धान हुनु जरुरी छ ।