Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक


1k
Shares

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने बताए ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा यो चलचित्रमा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन ।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । यो चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ ।

यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् ।