Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


दुधको भुक्तानी नपाएपछि किसान आन्दोलित


104
Shares

कैलाली । दुधको भुक्तानी नपाएको भन्दै देशैभरका किसानहरु आन्दोलित भईरहेका छन् ।

अखिल नेपाल किसान महासंघको नेतृत्वमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेका दुग्ध किसानहरुले आज देशका विभिन्न स्थानमा चक्काजामका साथै प्रदर्शन गरेका छन् ।

सुदुरपश्चिमका दुग्ध उत्पादक किसानले कैलालीको अत्तरियाको सडकमा दुध पोखेर विरोध समेत गरेका छन् । दुग्ध वितरण केन्द्र अत्तरियाले दुधको भुत्तानी नदिएको भन्दै उनीहरुले सडकमा दुध पोखेका हुन् । त्यस क्रममा किसानहरुले १ घण्टा चक्काजाम समेत गरेका थिए ।

सरकारी स्वामित्वको दुग्ध विकास केन्द्र डीडीसीले सुदूरपश्चिम प्रदेशमा मात्रै दुध उत्पादक किसानको ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको किसानहरुले बताएका छन् । दुध उत्पादक किसानहरुले सरकारी स्वामित्वका डेरीहरूले किसानको बक्यौता रकम पनि नदिने र दुध समेत खरिद नगर्दा किसानहरू दुध फाल्न बाध्य भएको बताएका छन् ।

दुग्ध वितरण केन्द्र अत्तरियाले भने माघ मसान्तसम्म ४ करोड बढी भुक्तानी दिन बाँकी रहेको जनाएको छ । जाडो याममा दही र मही समेत बिक्री नहुने हुँदा खरिद कम गरेको केन्द्रको तर्क छ ।

भदौको दोस्रो सातादेखि फागुन १५ गतेसम्मको हिसाबमा डीडीसीले दूग्ध किसानको करिब ७ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ । किसान महासंघले बक्यौता रकम तुरुन्त दिनुपर्ने, दुध खरिद गर्नुपर्ने, दूधको विक्री मूल्य निर्धारण गर्नुपर्ने, सम्पूर्ण कृषि उपजको समर्थन मूल्य घोषणा गरी खरिदको व्यवस्था गर्नुपर्ने, किसानको बिमा भुक्तानी गर्नुपर्ने, सहुलियत कृषि कर्जा प्रभावकारी ढंगले लागू गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन थालेको हो ।

किसानहरु भने समयमै भुक्तानी नपाउने र दुध पनि नविक्ने हुँदा ठूलो आर्थिक संकटमा फसेका छन् ।