७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


आठ संसदीय समितिहरुको बैठक बस्दै


143
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज आठ संसदीय समितिहरुको बैठक बस्दैछ । आठ संसदीय समितिहरुमा प्रतिनिधिसभाका पाँच र राष्ट्रिय सभाका तीन वटा समितिहरुको बैठक बस्न लागेको हो ।

उक्त समितिहरुमध्ये केही समितिले विधेयकहरुमाथि छलफल गर्दैछन् । केही समितिहरुले भने समसामयिक विषयमा छलफल गर्न लागेको हो ।

प्रतिनिधिसभामा बिहान ११ बजे बस्ने बैठकमा महिला तथा सामाजिक मामिला समितिले अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसाँस्कृतिक सहिष्णुता प्रवर्धनमा आयोगले खेलेको भूमिकाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरि शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छललफल गर्ने कार्यसूची छ । यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरि दिउँसो २ बजे प्रतिनिधिसभाकै अर्थ समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । अर्थ समितिमा आन्तरिक छलफलको कार्यसूची रहेको छ भने कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रिय सभाअन्तर्गत बिहान ११ बजे बस्ने बैठकमा दिगो विकास तथा सुशासन समितिले सुशासनलगायतका विषयमा अन्तरक्रियात्मक छलफल गर्नेछ भने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावारण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ मा सैद्धान्तिक छलफल हुनेछ ।

यसैगरि राष्ट्रिय सभाअन्तर्गतनै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पहिचान, आवास तथा भूमिमाथिको पहुँच लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।