
नवीनराज कुइँकेल (इमेज)
लमजुङ, भदौ २८ । लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ । अरु तीनजना बेपत्ता छन् ।
मृत्यु हुनेमा मर्स्याङङ्दी गाउँपालिका वडा नम्बर–३, खुदी–पल्लोटारीकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरीषा, वडा नम्बर–३, अर्खलेबेसीकी ७० वर्षीया ललितमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–५ की विष्णुकली गुरुङ रहेका छन् ।
अतिरुपा र शिरीषा पहिरो छल्न भाग्दैगर्दा पुरिएका थिए । ललितकलालाई तोप्रोखोलामा आएको बाढीले बगाएको हो । उनको बिहीबार बिहानमात्र शव फेलापरेको प्रहरीले जनाएको छ ।
विष्णुकली बाख्रा चराउन जाँदा पहिरोमा परेकी थिइन् । उनका ४० बाख्रामध्ये १३ ओटा मरेको अवस्थामा फेलापरेका छन् । अरु २७ ओटा अझै हराएका छन् ।
बाढीमा परेर तीनजना बेपत्ता भएका छन् । बेसीसहर–११ स्थित दोर्दीखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुरलाई मर्स्याङ्दी नदीले बगाएको हो ।
मर्स्याङ्दीमा बेपत्ता हुनेमा बर्दियाका ठाकुरद्धारा नगरपालिका वडा नम्बर–५ का ३२ वर्षीय वलिराम चौधरी र २५ लक्ष्मण थारु रहेका छन् ।
यस्तै, मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–४, नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रोखोलामा आएको बाढीमा परी बेपत्ता भएका छन् ।
बाढीले एउटा ट्याक्टर, तीनओटा मोटरसाइकल, एउटा मिनिट्रक र एउटा जिप बगाएको छ ।
सातजना घाइते
बाढी–पहिरोले मर्स्याङ्दी गाउँपालिका वडा–३, ४, ५ र ६ का क्षेत्रमा बढी क्षति पुर्याएको छ । पहिरोमा परी सातजना घाइते भएका छन् ।
घाइते हुनेमा मर्स्याङ्दी–३, खुदी–तरापुका टुकमाया खत्री, कृष्ण थापा, रसीव थापा, सिजन थापा र सोही वडाको अर्खलेबेसीका फूलमाया गुरुङ रहेका छन् ।
यस्तै, वडा नम्बर–४ श्रीचौरका मेनका घले र समिर विक पनि घाइते छन् । घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पताल र खुदी स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।
घोप्टेभीरमा सर्वसाधारण र यात्रीहरु फसे
पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङको घोप्टेभीरमा केही सर्वसाधारण र यात्रीहरु फसेका छन् ।
विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुँदा जिपमा यात्रारत् यात्री र स्थानीय घोप्टेभीरको डाँडामा अलपत्र परेका हुन् ।
उद्धारमा गएको हेलिकोप्टर अवतरण गर्न सकेन
उनीहरुलाई उद्धार गर्न प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, पूर्वसांसद जमीन्द्रमान घले, गृह मन्त्रालयको विपद् महाशाखाकी सहसचिव इन्दु घिमिरेसहितको टोली हेलिकोप्टरमा घटनास्थल पुगेका थिए ।
पहिरोमा फसेका सर्वसाधारण र पर्यटकको उद्धारका लागि गएका उनीहरु हेलिकोप्टर अवतरण गर्ने स्थानको अभाव भएपछि त्यसै फर्किएका छन् ।
‘पहिरोले बाटो क्षत–विक्षत छ । डाँडाकाँडा, सम्मस्थान कतैपनि हेलिकोप्टर ल्यान्ड गर्ने स्थान पाइएन’–सांसद गुरुङले भने–‘हेलिकोप्टर ल्यान्ड गर्न नसकेपछि चाउचाउ, चिउरा र पानी खसालेर फर्कियौं ।’
हेलिकोप्टरबाट पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको एउटा टोली पैदलमार्ग हुँदै त्यसतर्फ पठाइएको प्रजिअ ढकालले बताए ।
बेसीसहर–चामे सडकको अर्खलेबेसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करिब आधादर्जन घर बगाएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।
पहिरोले चार घर बगायो
मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा चारओटा घर पहिरोले बगाएको छ । वडाअध्यक्ष लिलाप्रसाद घलेले आफ्नो घरसमेत पहिरोले लगेको बताए ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स–साना खहरेखोलामासमेत बाढी आएको र ठाउँठाउँमा पहिरो झरेका कारण स्थानीयलाई आवात–जावत गर्नसमेत समस्या भएको बताए ।
ठाउँठाउँमा पहिरो झरेपछि बेसीसहर–चामे सडकखन्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्