१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


परम्परागत बालन नाच लोप हुने अवस्थामा


156
Shares

पाल्पा (भरत शर्मा) । पाल्पाका ग्रामीण क्षेत्रहरुमा दुई दशकअघिसम्म विभिन्न चाडपर्व तथा धार्मिक कार्यमा प्रस्तुत हुँदै आएको परम्परागत सांस्कृतिक बालन नाच अहिले लोप हुने अवस्थामा पुुगेको छ । पछिल्लो समयमा युवा पुस्ताको यो नाचप्रतिको बेवास्ता र बालन नाच्ने पुराना पुस्ताहरू वृद्ध भइ अशक्त हुँदै गएपछि संरक्षण अभावमा बालन नाच लोपउन्मुख अवस्थामा पुुगेको हो ।

केही समय यता उत्सव, महोत्सव तथा विशेष समारोहहरूमा बालन नाचका केही झलकहरु देखाइने गरिए पनि चाडपर्वहरुमा भने देखाउन छाडिएको छ । अहिलेका युवा पुस्ता पश्चिमी गीत, संगीत र संस्कृतिमा रमाउन थालेको र बालन नाचको संरक्षणमा उचित ध्यान नदिँदा यो पम्परा हराउँदै गएको स्थानीय बताउँछन् ।

विशेषतः ब्राह्मण क्षेत्री समाजमा यो नाच परिचित रहेको छ । यो नाचको गायन र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । पश्चिमा संस्कृतिको प्रभावसँगै केही वर्ष यता पाल्पाको रामपुर, रम्भा, पूर्वखोलाका ग्रामीण क्षेत्रमा बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । कुनै बेला गाउँमा आफूहरूलाई बालन नाच्न भ्याइनभ्याई नै हुन्थ्यो । अहिले बालन नाच्न जान्ने (बालने)को टोली नै जुटाउन सकिँदैन । कोही बसाइँ सरे, कसैको मृत्युु भयो । एक दर्जनभन्दा बढी व्यक्तिको समूहमा रामायण र महाभारत जस्ता धार्मिक ग्रन्थलाई लय हालेर भट्याई नाचिने बालन नाच कुनै बेला छिमेकी जिल्लाहरूले समेत बोलाउने गर्थे । युवा पुस्ताले बालन नाच चटक्कै भुलेको धर्मोदय दशअवतार बालन समुह पाल्पाका अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो ।

बाह्मण, क्षेत्री समुदाय बाहेक नेपालका अन्य समुदायमा कम प्रचलित बालन देवीदेवताको गुणगानमा केन्द्रित रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवानका लीला र अवतारहरूको वर्णन बालनमा हुन्छ । यो नाचको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका दस अवतारलाई लिएर गरिएको हो । त्यसैले यो धर्मशास्त्रमा आधारित छ । हिन्दू परम्पराका अनुयायी व्रतालुहरू भगवानको विशेष पूजा आराधनाका बेला र खासगरी जाग्राम बसेका बेला बालनका टोली ल्याएर गाउने र नाच्ने गरेको बालन नाचका संरक्षक लक्ष्मण भट्टराई बताउनुहुन्छ ।

बालन गायन र नृत्यसँगै खासगरी स्रोता दर्शकका लागि अत्यन्त रमाइलो लाग्ने यस क्षणमा भगवानका अवतारहरूको नक्कल गरिन्छ । कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंसको अभिनय सँगसँगै नृत्य पनि हुने गर्छ । गुरूङ संस्कृतिको घाटु नाचमा गीतको लयसँगै नर्तकीलाई देवी चढेर लठ्याएझै बालनमा पनि गीतको लयसँगै अवतार बन्नेहरूमा देवी चढ्ने गरेको जानकारहरुको भनाइ छ । तर परम्परागत संस्कृति संरक्षणमा चासो नदिने हो भने यो लोप हुने निश्चित छ । यसर्थ सामाजिक प्रचलन, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक पक्षलाई लयात्मक ढङ्गमा नाचिने यस नाचको संरक्षण गर्न सम्बन्धित निकाय र स्थानीय सरकारले नयाँ पिँढीका युवालाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिन जरुरी छ  ।