Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


रुसका विपक्षी नेता नाभाल्नीको शव परिवारलाई हस्तान्तरण


702
Shares

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण अघि रुस सरकारले नाभाल्नीको आमा ल्युडमिलालाई मृत्यु प्राकृतिक कारणले भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको बुझिएको छ ।

नाभाल्नीको मृत्यु घोषणा भएको दिनदेखि नाभाल्नीको शव राखिएको जेल नजिकको शहरमा बस्दै आएकी नाभाल्नीको आमालाई उनको मृत्यु प्राकृतिक रुपमा भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न दबाव बढेपछि उनकी आमाले हस्ताक्षर गरेको बुझिएको छ । हस्ताक्षर नगरेको खण्डमा जेलकोे मैदानमा शव गाड्ने धम्की आएपछि नाभाल्नीका आमा प्राकृतिक रुपमा मृत्यु भएको पत्रमा हस्ताक्षर गर्न बाध्य भएकी हुन् ।

यसअघि नाभाल्नीका पत्नी युयिला नवल्नायाले राष्ट्रपति भ्लादिमीर पुटिनलाई संकेत गदै आफनो पतिको शवलाई समेत बन्धक बनाएको आरोप सहितको भिडियो सन्देश जारी गरेकी थिइन् । जसमा उनले आफना श्रीमानको शव नदिएको उल्लेख गर्दै जिउँदै यातना दिँदा दिँदा नथाकेको राष्ट्रपति पुटिनले मृत्युपछि पनि उनको शवलाई यातना दिएको उल्लेख गरेपछि रुस सरकारको चौतर्फी विरोध भएको थियो ।

नाभाल्नीको अन्त्येष्टी कता र कहिले गर्ने भन्ने बारे उनका परिवारले स्पष्ट पारेको छैन । रुसी राष्ट्रपतिका कट्टर आलोचकका रुपमा रहेका नाभाल्नीको गत १६ फेब्रअरीमा रुसको आर्कटिक सर्कल भित्रको रुसी जेलमा मृत्यु भएको थियो ।