७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


देशभरका लघुवित्त पीडित काठमाडौंमा, महिलाको संख्या अत्यधिक


637
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्तले प्रवाह गरेको ऋण लिएका विभिन्न जिल्लाका बासिन्दा लघुवित्तको ज्यादतीविरुद्ध पुनःआन्दोलित भएका छन् । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई गरेको कर्जा प्रवाहमा ऋणिहरुले समयमै ऋण नतिर्दा व्याज बढेर घरबार गुमेपछि आन्दोलनमा होमिएका उनीहरु हप्तादिनको पैदल यात्रा गरी काठमाडौं आइपुगेका हुन् ।

बालबालिकादेखि वृृद्धवृद्धा सबै उमेर समूहका व्यक्तिहरु सम्मिलत यो र्याली हो लघुवित्तिय संस्था पीडितहरुको । केही महिना अघि आन्दोलन स्थगित गरी गाउँ फर्केका लघुवित्त पीडितहरुले समस्याको सुनुवाइ नभएपछि पुनः शुरु गरेको आन्दोलन ।

फागुन १ गतेबाट विभिन्न जिल्लाबाट पैदल यात्रा गरी मुग्लिनमा भेला भएका उनीहरु पैदलै काठमाडौं आइपुगेका छन् । हजारौंको संख्यामा भेला भई लाइनवद्ध रुपमा लघुवित्त संस्थाविरुद्ध विभिन्न नारा लगाई सहभागी भएकाहरुमा महिलाहरुको संख्या अत्यधिक छ । आन्दोलनले आफूहरुले लिएको ऋण मिनाहा हुने उनीहरुको आशा छ ।

आन्दोलनमा सहभागीहरु अधिकांश धेरै दिनको पैदल यात्राले थकित छन् । तर, पनि हार मानेका छैनन् । उनीहरुको एउटै आशा छ आफूहरुले लिएको ऋण मिनाहा हुने । यसअघि पनि आन्दोलनमा होमिएका उनीहरुको दबाब थेग्न नसकेपछि गत पुष महिनामा नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिबीच १२ बुँदे सहमति भएको थियो । तर, त्यो सहमति कार्यान्वयनमा नआएपछि उनीहरु पुनः आन्दोलित भएको संयोजक काठमाडौं केन्द्रित आन्दोलन संयोजक बताउनुहुन्छ ।

संघर्ष समितिले पछिल्ला केही महिनादेखि लघुवित्त वित्तीय संस्थाको लाइसेन्स खारेजदेखि ऋणीको ऋण मिनाहसम्मका माग अघि सारेका छन् । उनीहरु भन्छन् आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।

पैदल यात्रामा सहभागीहरुमध्ये अधिकांशको घरखेत गुमिसकेको छ भने केहीको पशु चौपाया र घरका सरसामान समेत लगिएको छ । सर्वहाराको मुक्तिका लागि भन्दै सशस्त्र विद्रोहसमेत गरेका नेताहरुको नेतृत्वमा सरकार भएको बेला कहिले मिटरब्याजी पीडित त कहिले लघुवित्त पीडित अनि कहिले सडक व्यापारी त कहिले सुकुम्बासी लगायतको पीडा निरन्तर सडकमा पोखिँदा पनि ठोस सम्वोधन नहुनु बिडम्बना मान्नु पर्दछ ।