
काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८० भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रिय स्तरका छापा सञ्चारगृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालय तथा परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राख्ने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र तथा घरघरमा दीप प्रज्वलन गरिनेछ ।
दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी सार्वजनिक तथा सामुदायिक सङ्घ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारणको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्