२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


सुरक्षित इन्टरनेट दिवस


208
Shares

ललितपुर । “राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ” नाराकासाथ यस वर्षको सुरक्षित इन्टरनेट दिवस नेपालमा र विश्वका १७० भन्दा बढी मुलुकमा मनाइएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद् र चाइल्डसेफनेटले जेनुइन सेकेन्डरी स्कुल र वल्र्डलिङ्कको सहकार्यमा मंगलबार भक्तपुरस्थित जेनुइन माध्यामिक विद्यालयमा मनोरञ्जनात्मक सचेतना कार्यक्रम गरि सुरक्षित इन्टरनेट दिवस मनाइएको हो ।

नेपालमा बालबालिकाविरुद्ध हुने अनलाइन अपराधको तथ्यांक साझा गर्दै परिषद्का सदस्य–सचिव तथा सुरक्षित इन्टरनेट दिवसको नेपाल समन्वय समितिका अध्यक्ष इन्द्रादेवी ढकालले बालबालिकालाई अनलाइनबाट समेत जोगाउनु आवश्यक रहेको बताउनु भयो ।

जेनुइन माध्यामिक विद्यालयका विद्यार्थीहरूले अनलाइन सुरक्षाको बारे सचेतना जगाउन सचेतनामूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले अनलाइन सुरक्षा क्विज र बहसमा पनि भाग लिएका थिए । प्रख्यात कलाकार यमन श्रेष्ठले अनलाइन सुरक्षा सचेतनामूलक गीत प्रस्तुत गर्दै आफ्ना मिठा गीतहरू सुनाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

विश्वव्यापी रुपमा मनाइने यस दिवसले सरकार, नीति निर्माता, निजि क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आआफ्ना जिम्मेवारी निर्वाह गराउन पैरवी गर्दछ । साथै, यसले सुुरक्षित इन्टरनेटका लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सघसंस्था तथा अन्य सरोकारवालालाई एकजूट हुन आह्वान गर्दछ ।

सन् २००४ देखि हरेक वर्ष फेब्रुअरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको भएता पनि नेपालमा सन् २०१९ देखि मात्र चाइल्डसेफनेटको पहलमा यो दिवस मनाउन थालिएको हो । बालबालिका तथा युवावर्गका निम्ति सुरक्षित इन्टरनेटका लागि कार्यरत विशिष्टिकृत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।