
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबारबाट शुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो ।
सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गर्नुभयो । विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उहाँले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानून निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मासात गर्दै संसदका चालु अधिवेशन नतिजामुखि हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने पनि बताउनुभयो ।
सभामुख घिमिरेले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने भएकाले उनीहरुको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्