६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024


हिमपातको समय सर्दा कृषिमा असर


0
Shares

जुम्ला– विगतमा मंसिर अन्तिमदेखि नै हिउँ पर्ने कर्णालीका हिमाली जिल्लामा यो वर्ष माघ तेस्रो सातामात्र राम्रोसँग हिमपात भयो । कर्णालीमा एउटा मान्यता छ– पुस १२ मा बेलकुनी माइत जाने र १६ गते कोसेली हिउँ लिएर फर्किने । अर्थात् पुस १६ गते कर्णालीमा अनिवार्य रुपमा हिउँ पथ्र्यो । यो मान्यता अहिले पनि कायम छ । तर, हिमपात हुने समय भने पहिले जस्तो एउटै छैन । फेरिएको छ ।

पहिले सामाजिक मान्यताअनुसार मौसमले पनि साथ दिएर पुस पहिलो र दोस्रो साताभित्र हिउँ पथ्र्यो । तर, केही वर्षयता खासगरी देश संघीयतामा गएपछि डोजरे विकासका कारण वातावरणमा असर परेको छ र हिउँ पर्ने समय धकेलिँदै गएको छ । जलवायु परिवर्तनका कारण हिमपात हुने समय फेरिन थालेको जानकारहरु बताउँछन् ।

जुम्लासहित कर्णालीका मुगु, हुम्ला र डोल्पामा बुधबार रातिदेखि हिमपात भएको छ । जुम्लामा यो पहिलो हिमपात हो भने हुम्ला र मुगुमा तेस्रोपटक हिउँ परेको हो । कालिकोटका उच्च भूभागमा हिमपात र बेँसीमा वर्षा भएको छ । लामो समयसम्म हिउँ नपरेपछि चिन्तित बनेका किसान उत्साहित भएका छन् । पुसदेखि हिउँको प्रतीक्षा गरिरहेका किसान ढिलै भए पनि हिमपात हुँदा हर्षित भएका हुन् ।

हिउँ नपर्दा कर्णालीको हिउँदे बाली उत्पादनमा गिरावट आउँछ भने स्याउ बगैंचा व्यवस्थापनमा समेत असर पर्ने गरेको छ । त्यसैले पनि कर्णालीका किसान मंसिर अन्तिमदेखि नै हिउँको प्रतीक्षा गर्छन् । हिउँ पर्ने समय टाढिएपछि जुम्लाको कृषि क्षेत्रमा असर परेको छ । पुसमा हिउँ परे माटोमा चिस्यान कायम हुन्छ र स्याउलाई सिँचाइ पुग्छ । तर, माघको हिउँले त्यति चिस्यान कायम नगर्ने कृषि विज्ञ बताउँछन् । कर्णालीको हिउँदे बाली सप्रिनका लागि पनि समयमै हिउँ पर्न आवश्यक छ ।

जलवायु परिवर्तनकै कारण हिमपात हुनुपर्ने समयमा नहुने, बेमौसमी वर्षा हुने, बाली भित्र्याउने बेला बाढी आउने, असिना पर्ने जस्ता प्रकोप पछिल्ला वर्षमा बढ्दै गएको विज्ञहरु बताउँछन् । जलवायुमैत्री कृषि प्रणाली तथा वातावरण संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको जोड छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले अहिले भएको हिमपातले कृषि क्षेत्रमा विशेष राहत पुग्ने बताए । उनले भने, ‘यो वर्ष ढिला हिमपात भयो । त्यो पनि अपेक्षानुसार हिउँ परेको छैन । थोरै भए पनि बालीनालीलाई यसले सघाउ पुग्छ । स्याउ बगैंचा व्यवस्थापनमा पनि राहत हुन्छ ।’ स्याउको फेदमा खाडल बनाई हिउँ संकलन गर्न किसानलाई उनको सुझाव छ ।

यो वर्ष हिउँ नपरेर हिउँदे बाली खेतमै सुक्ने चिन्ताले पिरोलिरहेका बेला थोरै भए पनि हिमपात भएर राहत मिलेको किसान चन्द्रविर चनाराले बताए । ‘कर्णालीको कृषि र जनजीवनसँग हिउँ जोडिएको छ । हिउँ नपरी हिउँदे बाली सप्रिँदैन । पुस–माघमा हिउँ नपरेसम्म तातो रिट्दैन भन्ने विश्वास छ । त्यसैले कर्णालीमा हिउँको आफ्नै महत्व छ,’ उनले भने ।

गत साल पुसमै हिमपात भएको थियो र बालीनाली सप्रिएको थियो । किसान कालो कामीले भने, ‘पुस–माघमा हिउँ परेन भने स्याउ बगैंचा व्यवस्थापन गर्न मिल्दैन । यसले गर्दा उत्पादन घट्छ । हिउँ परेपछि नयाँ बिरुवा रोप्ने चटारो पनि सुरु हुन्छ । विगतको तुलनामा निकै कम हिउँ आउन थाल्यो ।’ (साभार : कारोबार दैनिक)