Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


युरोप पठाइदिन्छु भन्दै ६ सय जनालाई ठगी गर्ने सुजन तामाङ पक्राउ


312
Shares

काठमाडौं । युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्रोशियालगायतका देशहरुमा पठाइदिन्छु भन्दै ६ सय जना बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर नल्लु ५ र हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङ रहेका छन् । उनले कामनपा १६ स्थित बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ युरोपियन मुलुक पठाइदिन्छु भनि ६ सय बढी सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक घिमिरेका अनुसार तामाङ वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भइ फरार रहेका थिए । उहाँका अनुसार पक्राउ परेका तामाङले युरोपियन मुलुक र क्यानडामा कामदार पठाउँछु भनेर क्यानडा १८ लाख, माल्टा ८ लाख, पोल्याण्ड ७ लाख र क्रोशिया ६ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुलेको छ । ६ सय भन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको प्रहरीले बताएको छ ।

ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, बसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको छ ।

Skip This