
लक्ष्मी लामा/दिलिप पोखरेल (इमेज)
काठमाडौं, भदौ २७ । नेपाली हिन्दू महिलाहरूले स्वतन्त्र र आनन्दमयरूपमा मनाउने चाड हो तीज ।
हुनेखाने महिलाहरु रंगीचंगी लुगा र गरगहनामा झपक्कै सजिएर दिनभर मन्दिर तथा घरघरमा नाचगान गरेर रमाइलो गर्दछन् ।
तर, दिनहुँ काम गरेर जीविकोपार्जन गर्ने महिलाहरुको तीज भने बेग्लैखालको हुने गर्दछ ।
अरु महिलाहरुझैं गहना र रंगीचंगी कपडामा सजिने मन त सबैको हुन्छ नै । तर, आर्थिक उपार्जनका लागि घरबाहिर काम गर्नुपर्ने बाध्यता पनि हुने गर्दछ, कतिपय महिलाहरुका लागि ।
तीज पनि मनाउनुपर्ने, काम पनि गर्नुपर्ने महिलाहरु बेग्लै शैलीमा तीज मनाउने गर्दछन् ।
बिहान मन्दिर गएर दिँउसो आफ्नो काम गर्ने र साँझ पारिवारिक सदस्यहरुसँग नाचगान गरेर ब्रत पूरा गर्ने गर्दछन् उनीहरु ।
काठमाडौं, बागबजारकी ३२ वर्षीया चन्द्रकुमारी श्रेष्ठ विगत एक वर्षदेखि चटपटे बेच्दै आएकी छन् । विगतका दिनमा ब्रतका दिन ब्रत बस्ने, मन्दिर जाने गरेर तीज मनाउँदै आएको भएपनि योपटक बालबच्चा पाल्नका लागि भएपनि पसल खोलेको उनले बताइन् ।
तारा श्रेष्ठ । उमेरले ३८ वर्ष पुगिन् । विगत ९ वर्षदेखि निरन्तर टेम्पो चालकको काम गर्दै आएकी छन् उनी । बिहान–बेलुका तीज मनाएपनि दिनभरि टेम्पो चलाउने गरेको उनको भनाइ छ ।
त्यसैगरी, बानियाँटार निवासी ५० वर्षीय शारदा राईले हरेक वर्ष तीज रमाइलो गरेर मनाउने बताउँछिन् ।
तीजको दिन पनि पसल खोल्नुपर्ने बाध्यताका कारण बिहानै मन्दिर जाने र दिनभरि पसल खोल्ने अनि साँझ फेरि रमाइलो गर्ने उनको तीजतालिका हो ।
यस्तै, विगत २५ वर्षदेखि भृकुटीमन्डपमा पसल सन्चालन गर्दै आएकी शान्ति कार्की बिहान मन्दिर गएर आएपनि दिनभरि पसलमा नै बसेको बताउँछिन् ।
पसल हेरिदिने मान्छे नभएकाले पसल खोलेरै तीज मनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
विभिन्न पेसामा रहेकाहरुले पनि काम गरेरै भएपनि आफ्नो सांस्कृतिक पर्वलाई निरन्तरता दिने गरेका छन् । यसले पर्वप्रतिको उनीहरुको समर्पणलाई पनि पुष्टि गर्दछ ।
प्रतिक्रिया दिनुहोस्