Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति


0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाली कांग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको अरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गर्नुभएको हो ।

महानिर्देशक अधिकारीले युरोपियन युनियनले पठाएको सेपm्टी रिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताउनुभयो । उहाँले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रुपमा ‍औंल्याएको दाबी गर्नुभयो ।

उहाँले आफूले कानूनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानून ठिक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्‍न गर्नुभयो । उहाँले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचिबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनैपनि एयरलाइन्स नजाने बताउनुभयो । उहाँले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताउनु भयो । यता, इयुले हिमालय एयरलाइन्सको पनि फाइल हेरेको र ठिक रहेको भन्दै अडिट गर्न भने नगएको बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले क्यान,नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताउनुभयो । उहाँले क्यानका महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको बताउनुभयो । उहाँले क्यानका महानिर्देशक अधिकारीले युरोपियन युनियनले हवाई सेपm्टीको रिपोर्टको विषयमा झुटो बोल्नुभएको आरोप लगाउनुभयो । उहाँले रिपोर्ट पढ्दै ०.५६ देखि ०.६२ सम्म अधिकांश ठाउँमा क्यानको कमजोरीहरु भनेको बताउनुभयो ।

त्यस्तै, बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचिबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरु उडान गरिहेको बताउनुभयो । उहाँले निगमले जनशक्ति,प्राविधिक र सिस्टमलाई पालना गरेको दाबी गर्नुभयो । उहाँले क्यानले वर्षमा एकपटक वायुसेवा निगमको पूर्ण अडिट गर्ने र आवश्यकताअनुसार बीचमा पनि अडिट गरेर नियमअनुसार भए/नभएको प्रमाणित गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष युवराज अधिकारीले रिपोर्टमा देखिएका २५ वटा सुझावमा २० वटा पूर्ण रुपमा निराकरण भएको र ३ वटा एक महिनाभित्रमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले दुईवटा तालिम लगायतका विषय रहेकाले प्रक्रियामा गएको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमले ईयुको मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मापदण्डहरु समेत पालना गर्दै आफ्ना जहाजहरु उडान गरिरहेको बताउनुभयो ।