
विनोद सिंह विष्ट
बैतडी, भदौ २७ । बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लो स्वराडमा थप एउटा प्रहरी चौकी स्थापना हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापनाको तयारी भएको छ । सो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न लागिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
स्थानीय सरकारको आग्रह तथा सुरक्षाको दृष्टिकोणले समेत त्यहाँ प्रहरी चौकी आवश्यक रहेकोले स्थापना गर्न लागेका हौं,’ उनले भने ।
सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिबाट प्रस्ताव पारित भईसकेको छ । उनले भने, ‘प्रहरी चौकी स्थापनाका लागि माथिको आदेश चाहिन्छ, हामीले सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाएका छौं ।’
शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहे पनि त्यहाँवाट गाउँपालिकाको केन्द्र सुल्लेखान पुग्न ४ घण्टा लाग्छ ।
गाउँपालिका केन्द्रमा प्रहरी चौकी नहुँदा असुरक्षित महसुस भएकाले प्रहरी चौकी स्थापनाको माग गरिएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताईन् ।
तल्लोस्वराड चितुवा प्रभावित क्षेत्र रहेकाले यहाँ प्रहरी चौकी थप्न आवश्यक रहेको थियो । उनले भनिन्, ‘सुरक्षाको कारण देखाउदै बैंक शाखासमेत स्थापना हुन सकेको थिएन, अब बैंक पनि स्थापना हुन्छ ।’
तल्लोस्वराडमा चितुवाको आक्रमणमा परी ६ बर्षयता २३ जनाले ज्यान गुमाएका छन् भने दर्जन बढी घाईते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्