१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


फोहोरको गन्धले ककनीको कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग


169
Shares

काठमाडौं । नुवाकोटको ककनी तथा सिसडोल क्षेत्रमा फोहोरको दुर्गन्धले गर्दा कृषि उत्पादन घटेको स्थानीयले गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकाको फोहोर फाल्ने ल्याण्डफिल साइटले घेरिएको ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्या हुनुका साथै खेतबारीमा उब्जनी समेत हुन छाडेको उनीहरुको गुनासो छ ।

फोहोर विसर्जन गर्न दिए वापत एक घर–एक रोजगार, सडक पिच, गाउँमै अस्पताललगायतका आश्वासन दिएको सरकारले कुनै पनि प्रतिवद्धता पुरा नगरेको तर आफूहरु भने फोहोरको शिकार हुनुपरेको उनीहरुले बताएका छन् ।

डम्पिङसाइटबाट निस्कने लिच्चड खोलामा मिसाइएको र त्यही पानी खेतबारीमा लगाउँदा उब्जनी हुन छाडेको उनीहरुको दाबी छ । चाउथेका कृषक कृष्णहरि ढुङ्गानाले बञ्चरेडाँडाको फोहोरको दुर्गन्धले बोट विरुवा नफस्टाउने समस्या देखिएको र उत्पादन घटेको दाबी गरेका छन् ।

अर्का कृषक विश्वनाथ बजगाईंको दुखेसो पनि उस्तै छ । बजगाईंले उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आफूहरुले मानवीय क्षतिका साथै कृषि उत्पादनमा समेत मार खेप्नु परेको बताउँछन् । सुन्तला, ज्यामिर, निबुवा, जुनार जस्ता फलभित्र समेत किरा लाग्न थालेको उनको दाबी छ ।

यस क्षेत्रका स्थानीयमा बाह्रैमास रुघाखोकी र झाडापखाला लाग्ने तथा दीर्घकालमा क्यान्सर पीडित हुनुपर्ने अवस्था रहेको भन्दै उनीहरुले आफूहरुलाई अन्यत्र जाने व्यवस्था गर्न अथवा फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न माग गरेका छन् ।