
काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
पोखरा क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन बनेको हो ।
पहिले ब्याटिङ गरेको मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र जोड्न सक्यो । आर्मीलाई जितका लागि अन्तिम ओभरमा २४ रन चाहिंदा विवेक यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिंदै ११ रन जोडेका थिए । तर, त्यसपछिका तीन बलमा सोमपाल कामीले एक रन मात्र बनाए । सोमपालले १६ रन बनाउँदा विवेक भण्डारीले २५ रन बनाए ।
यस्तै, कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए । रोहित पौडेल ५ रन, बसिर अहमद २ रन, कुशल मल्ल शून्य र राजेश पुलामी ३ रनमै आउट भए । बलिङतर्फ मधेशका कप्तान हरिशंकर साहले ४ विकेट लिए भने प्रदीप पासवानले २ विकेट र पार्थिक यादवले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
विशाल पटेलले ४९ रन जोड्दा हरिशंकरले २७ रन, हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाएका थिए । मधेशका अरु ब्याट्सम्यान भने दोहोरो अंकको रन नबनाई आउट भएका थिए । बलिङतर्फ आर्मीका विवेक यादव र शाहव आलामले ३–३ विकेट लिएका थिए भने सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्