काठमाडौं । पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानाले घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि छुट्टै विकास बैंक स्थापना गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
बागमती प्रदेश सरकारले सोमवार काठमाडौंमा आयोजना गरेको औद्योगिक व्यवसाय ऐन परिमार्जनसम्बन्धि छलफल कार्यक्रममा बोल्दै पूर्वअर्थसचिव ढुंगानाले सो बैंक स्थापना गरेर मात्रै घरेलु तथा साना उद्योग व्यवसाय लगानीका लागि कर्जा प्रवाह गर्न सकिने बताउनुभएको हो । उहाँले संविधानमै दोहोरो कर प्रणालीको व्यवस्था गरेकाले त्यसलाई पनि सच्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पूर्वअर्थसचिव ढुंगानाले घरेलु तथा साना उद्योगसम्बन्धि ऐनमा धेरै अस्पष्टताहरु रहेकाले यसलाई परिमार्जन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले औद्योगिक पूर्वाधार विकासमा पनि सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगीहरुलाई दोहोरो कर लगाउने काम तत्काल खारेज गर्न सरकारलाई दवाव दिनुभयो । उहाँले घरेलु तथा साना उद्योग प्रर्दशनीका लागि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । सरकारले अन्तर्राष्ट्रिय स्तरको बजार प्रवद्र्धनका लागि आवश्यक व्यवस्था मिलाउन नसक्दा घरेलु तथा साना उद्यमीहरुको उत्पादनले बजार पाउन नसकेको अध्यक्ष सिंहको गुनासो थियो ।
अध्यक्ष सिंहले सरकारी संस्थाहरुले घरेलु तथा साना उद्योगीहरुले उत्पादन गरेको वस्तुहरु २० प्रतिशतसम्म खरिद गर्ने सहमति पनि कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्