१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै


455
Shares

काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।

विश्‍व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ ।

समितिले गत साउन ९ गते टेण्डर आह्‍वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्यांकनमा ट्रान्स नेपालले बन्दरगाह सञ्चालनको जिम्मा पाएको बताउनुभयो । उहाँले सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिने सम्बन्धी, २०७० मा पोर्टहरू कम्पनीमार्फत सञ्चालन तथा व्यवस्थापन गराउने र नियमन समितिले गर्ने उल्लेख भए बमाजिम निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको बताउनुभयो ।

निर्देशक गजुरेलले सुख्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रले गर्ने विश्वव्यापी प्रचलन रहेको बताउनुभयो । उहाँले चोभार सुख्खा बन्दरगाह सञ्चालनमा मासिक रुपमा १६ लाख रुपैयाँ खर्च हुने गरेको बताउनुभयो । उहाँले बन्दरगाहको मासिक आम्दानी भने ५ देखि ६ लाख रहेको भन्दै अब निजी क्षेत्रले सञ्चालनको जिम्मा पाएपछि बन्दरगाहको सञ्चालन व्यवस्थापन र मर्मत सम्भार उसैले गर्ने बताउनुभयो ।

निर्देशक गजुरेलले बन्दरगाहमा लाग्ने सरकारको १० देखि ११ लाख रुपैयाँको खर्च अब निजी क्षेत्रले नै गर्ने बताउनुभयो । उहाँले पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशुल बाँडफाँड गर्नेगरी सम्झौता भएको बताउनुभयो । उहाँले साढे एक वर्षसम्म सरकारले सञ्चालन गरेको अनुभव हेर्दा सरकारले पाँच वर्षमा २ करोड ८८ लाख पाएकोमा गर्व गर्नुपर्ने बताउनुभयो ।

निर्देशक गजुरेलले काठमाडौं तराई दु्रत मार्ग नबनेसम्म चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन आउन नसक्ने विषयलाई सरकारले स्वीकार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सञ्चालन गर्न दिनु राज्यको लागि पनि राम्रो भएको बताउनुभयो ।

निर्देशक गजुरेलले बन्दरगाहलाई अहिले दुई भागमा छुट्याएर सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले चोभार भन्सार नयाँ सवारी साधनहरुको भन्सार जाँचपास गर्ने हबको रुपमा विकसित भएको बताउनुभयो । उहाँले अहिले पनि भन्सार पासको लागि ९० वडा सवारी साधन बन्दरगाहमा रहेको बताउनुभयो ।

निर्देशक गजुरेलले समितिले चलाउन पाउने नियम नभएको र पनि सञ्चालक समितिले विशेष निर्णय गरेर हालसम्म चलाइरहेको बताउनुभयो । उहाँले बन्दरगाहमा ट्राफिक प्रक्षेपण (गाडी वा कन्टेनर आउने संख्याको अनुमान) गरेर निजी क्षेत्रलाई सञ्चालन गर्न दिइएको बताउनुभयो ।