२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


टिकटक बन्द गर्ने सरकारको निर्णय विरोधाभाषपूर्ण : सञ्चारविज्ञ दाहाल


221
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रुपमा चर्चित र धेरै प्रयोग भएको टिकटक एप सरकारले बन्द गरेको छ । सरकारले टिकटक बन्द गरेसँगै दुई थरी आवाज उठेका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको एकथरीले बताउँदै आएका छन् भने अर्कोथरी टिकटकमा देखिएका विकृतिहरुले गर्दा टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै आएका छन् । सत्ता पक्षकै सांसदहरु सरकारको टिकटक बन्द गर्ने निर्णयको विरोधमा उत्रिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, त्यस्तै, कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बेले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको दाबी गर्दै निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । यता प्रतिपक्ष दल नेकपा एमालेका केही नेता र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले व्यक्तिको स्वतन्त्रता हनन् गर्ने काम गरेको भन्दै टिकटक प्रतिवन्ध तत्काल हटाउनुपर्ने धारणा राखिसकेका छन् । साथै यतिबेला टिकटकलाई नियमन गर्नुपर्ने निकायले सिधै नियन्त्रणमा जानुपर्ने बाध्यता कसरी आयो ? भन्नेबारेमा आम सर्वसाधारणको चासो र चिन्ता छ ।

पछिल्लो समय टिकटक लगायका सामाजिक सञ्जालहरुमा राम्रो विषयवस्तु पस्किने भन्दा पनि सामाजिक विकृति भित्र्याउने क्रियाकलाप र विषयमा सम्बन्धित भिडियो क्लिपहरु प्रशस्त भेटिँदै आएका थिए । सरकारले टिकटक प्रतिवन्ध लगाउनुपरेको कारण पनि बताइसकेको छ । नेपाल संवत ११४४ को अवसरमा भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक प्रतिवन्ध गरेको स्पष्टिकरण दिनुभएको थियो । तर अझै पनि टिकटकमाथिको प्रतिवन्धबारे आम सर्वसाधारण भने सरकारसँग रुष्ट छन् ।

सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध विरोधाभाषपूर्ण रहेको भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले बताउनुभयो । उहाँले नियमनमा जान लागेको सरकार अचानक नियन्त्रणमा जानुले सरकारको निर्णय विरोधाभाषपूर्ण रहेको स्पष्ट भएको बताउनुभयो । उहाँले विरोधाभाषमा टेकेर गरेको निर्णय सही हुन नसक्ने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालका प्लेटफर्मलाई यसरी नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने बताउनुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रताको बाटो सरकारले बन्द गरेको छ भन्ने सरकारकै निर्णयबाट पुष्टि हुने बताउनुभयो । सञ्चार विज्ञ दाहालले अभिव्यक्ति स्वतन्त्रताको बाटो बन्द हुनु संविधानको मर्म विपरित भएको बताउनुभयो । उहाँले सरकारको टिकटक बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको दाबी गर्नुभयो ।

सामाजिक प्लेटफर्मले समाजको विषयवस्तु नै देखाउने भएकाले समाजमा भएका कामलाई सम्बोधन गर्ने बाटो समाजबाट नै हुने बताउनुभयो । उहाँले सामाजिक प्लेटफर्मलाई बन्द गरेर समाजका विकृति नरोकिने बताउनुभयो । उहाँले तत्कालीन राजा ज्ञानेन्द्रले रेडियो टेलिभिजन बन्द गराएकै शैलीमा जाँदा स्वतन्त्रताको नियतमा शंका उठ्यो ।

सञ्चार विज्ञ दाहालले चर्चित बन्नका लागि सरकारले गलत निर्णय गरेको बताउनुभयो । उहाँले सम्बोधन गर्नुपर्ने निर्णय एकातिर राखेर उपचार अर्कैको गर्नेकुरा सही मान्न नसकिने बताउनुभयो । उहाँले जनताको आवाज मुखरित गरेर नेतृत्वमा पुगेको वर्गले नै जनताका आवाज बन्द गर्नेकुरा गैरप्रजातान्त्रिक गतिविधि भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल कडा नियमनमा हुनुपर्ने पनि बताउनुभयो । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोगबाट एपहरु खुलिरहेकाले सरकारले नियमन र नियन्त्रणमा आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो ।

नागरिकको व्यक्तिगत स्वतन्त्रताको हनन गरेर टिकटक एकप बन्द गर्नु भन्दा नियमन गर्नु राम्रो हो । देशमा उपलब्ध संयन्त्र,जनशक्ति र प्रविधिले टिकटकको नियमन सम्भव नै छैन भन्ने सोचेर सामाजिक सञ्जाल नै बन्द गर्नु भने राम्रो होइन । यद्यपी अभिव्यक्ति स्वतन्त्रताको अन्य माध्यम नभएका पनि होइनन् पनि । टिकटक लगायत सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ । कार्यालय र कर्मचारी हुनुपर्छ र मात्रै देशले नियमन गर्नसक्छ । तर अहिलेसम्म नेपालमा टिकटक दर्ता भएको छैन । जसकारण पनि देशको अर्बौं रुपैयाँ बाहिर गएको छ । टिकटकबाट पैसा कमाउनेहरु पनि करको दायरामा सरकारले कानून नहुँदा ल्याउन सकेको छैन । यद्यपी नियमनको पाटोलाई बिर्सिएर नियन्त्रणको बाटोमा जानु लोकतान्त्रिक देश र जनताका लागि वरदान सावित हुन नसक्ने विज्ञहरुको भनाइ छ ।