२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


राप्रपाको पदाधिकारी बैठकका निर्णयहरु


208
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ ।

पार्टीका कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नु भएका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पु¥याउनका लागि पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको एक महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभा सदस्यमा.ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।

यसैगरि भुगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू २०८० मंसिर १५ गते सम्मका लागि स्थगित गर्ने र पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु पनि कार्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

यसका साथै भुकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।