काठमाडौं । नेपाल ज्यादै भूकम्पीय जोखिमको क्षेत्रमा रहेको छ । भूकम्पको इतिहासलाई हेर्दा नेपालमा हरेक पाँच सयदेखि हजार वर्षको बीचमा ८ म्याग्निच्युडमाथिका भूकम्प र सय वर्षको अन्तरालमा ७ म्याग्निच्युड आसपासका भूकम्प जाने गरेको विज्ञहरुको विश्लेषण छ । दैनिक रुपमा भूकम्प भने गईरहेका हुन्छन् । तर, सामान्यतः ३ म्याग्निच्युडमाथिका भूकम्प मात्रै महशुस हुने गरेको छ ।
विभिन्न ऐतिहासिक तथ्यहरुमा आधारित भएर नेपालमा भूकम्पको विषयमा गरिएका अध्ययन तथा अभिलेखहरुमा नेपालमा १२१८ सालमा ठूलो भूकम्प गएको तथ्य रहेको छ । सो भूकम्पमा परी राजा अभय मल्लकै मृत्यु भएको हस्तलिखित आधार फेला परेका छन् । यस्तै, १३१६ सालमा गएको अर्को ठूलो भुकम्पले पनि निकै ठूलो क्षती पुर्याएको र भोकमरी ल्याएको इतिहास छ ।
यस्तै, १४०१ सालको दशैंको फूलपातीका दिन निकै ठूलो भूकम्प गएको र राजा अरि मल्लको मृत्यु भएको पनि लिखित इतिहास छ । ठूला भूकम्पहरुको लिखित प्रमाण फेला परेको १२१८ देखि २०७२ सम्ममा ५० वटा ठूला भूकम्प गएको अभिलेख छ ।
तर, १९९० माघ २ गतेको भूकम्पले पुर्याएको क्षतिको भने विस्तृत विवरण उपलब्ध छ । संखुवासभाको चैनपुरलाई केन्द्रविन्दू बनाएर गएको ८ दशमलव ४ म्याग्निच्युडको सो भूकम्पले देशमा भयंकर ठूलो क्षति गरेको लिखित ईतिहास छ । सो भूकम्पमा परी आठ हजार ५१९ जनाको मृत्यु भएको थियो । देशभर २ लाख ७ हजार ४० वटा संरचना भत्किएका थिए ।
८२ वर्षपछि २०७२ साल वैशाख १२ गते गएको भूकम्पले अर्को विपत्ति निम्त्याएको थियो । जसमा परी ८ हजार ५५६ जनाले ज्यान गुमाए भने २२ हजार ३०९ जना घाइते भएका थिए । २०७२ सालको भूकम्पले ३२ वटा जिल्लाका १० लाख घरमा क्षति पुर्याएको थियो । तर, सो भूकम्पले पश्चिम नेपालमा त्यति प्रभाव पारेको थिएन ।
पछिल्ला वर्षहरुमा भने पश्चिम नेपालमा पटक–पटक भूकम्प जाने क्रम बढेको छ । केही महिना यता मात्रै डोटी, बझाङ र अहिले जाजरकोटमा गरी ५ म्याग्निच्युड माथिका तीन वटा भूकम्प गईसकेका छन् ।
भूकम्पविद्हरु पश्चिम नेपालमा पाँच सय वर्ष यता ठूलो भूकम्प नगएकाले अहिले पनि ठूलो भूकम्पको जोखिम नटरेको बताउँछन् । भूकम्पको इतिहासको अध्ययनबाट यसो भनिएको हो । त्यसैले आजै वा भोलि नै ठूलो भूकम्प जान्छ भन्ने चाहीँ होइन ।
प्रतिक्रिया दिनुहोस्