
काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाइ उडान गर्न र अन्य एयरलाइन्सहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको तत्काल राहत तथा उद्धार गर्न रुकुमलाई केन्द्रित गरेर हवाइ उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री दाहालले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाइ उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन् । तर जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन । रुकुमका एयरपोर्टहरुमा साना ट्वीनअटर हवाइजहाज मात्र उडान हुने गरेका छन् । जाजरकोट जिल्ला र चौरजहारी नजिक भएकाले चौरजहारी एयरपोर्टबाट जाजरकोटमा पनि सेवा पु¥याउन सकिने सरकारले जनाएको छ ।
यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
यस्तै प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारका लागि जाजरकोट पुगि सक्नु भएको छ । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुग्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्