काठमाडौं । उच्च उत्पादन र बजारमा कमजोर खपतका कारण दुग्ध पदार्थको बिक्री चक्र बिथोलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी गरेको छ ।
भारत, बंगलादेश, श्रीलंका र चीनको स्वशासित क्षेत्र तिब्बतका निजी क्षेत्रसँग छलफल थालिएको दुग्ध विकास संस्थानले जनाएको छ ।
भारतको पटना डेरी, बंगलादेश, श्रीलंका र तिब्बतका दुग्ध व्यवसायीहरुसँग दुग्ध पदार्थ बिक्रीको प्रस्ताव गरिएको डिडिसिका महाप्रबन्धक सञ्जीव झाले जानकारी दिनुयभयो ।
बजार, किसान र संस्थानको व्यापार चक्र बिग्रिन नदिन दुग्धजन्य वस्तुको बाह्य बजार खोजी भइरहेको उहाँले बताउनुभयो । कूटनीतिक च्यानलबाट पनि बजारको सुनिश्चितताका लागि मन्त्रालय र सरकारको पनि ध्यानाकर्षण गराएको उहाँको भनाइ छ ।
संस्थानले अहिले नेपालबाट एसएमजी, बटर, घिउ र चिजजन्य वस्तु निर्यात गर्न सकिने जनाएको छ । अहिले नै डिडिसिले उत्पादन गरेको घिउ जापान, अमेरिका र यूरोपका बजारमा निर्यात पनि भइरहेको छ । जापानमा मात्र मासिक ५ हजार किलो घिउ निर्यात हुने गरेको महाप्रबन्धक झाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्