५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि


0
Shares

काठमाडौं, असार ५ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

डा. देवकोटाको सोमबार अपराह्न काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

अन्त्येष्टिअघि मंगलबारै न्यूरो अस्पतालमा देवकोटाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलि दिन पुग्नेहरुको ठूलो भीड लागेको थियो ।

दिउँसो १ बजेपछि नारायणगोपालचोक, चक्रपथ हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको थियो । अन्त्येष्टि भने विद्युतीय शवदाहगृहमा गरियो ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने न्यूरो अस्पतालले जनाएको छ । काजक्रिया सात दिनमै सम्पन्न गरिने जनाइएको छ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएपनि सफल हुन नसकेपछि डा. देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छाका साथ फर्किएका थिए ।

स्वदेश फर्किएपछि आफैंले स्थापना गरेको न्यूरो अस्पतालमा उनको उपचार गरिएको थियो ।

बिरामी भएकै समयमा गृहजिल्ला गोरखाको आफ्नै गाउँमा पुग्ने इच्छा गरेपछि उनलाई घर पुर्‍याएर सिस्नेधाराको पानी खुवाएर ल्याइएको थियो ।