१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण : गृहमन्त्री श्रेष्ठ


78
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता परस्कार-२०२३ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको अपेक्षा, नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न नसकेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्‍याउनु रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताउनुभयो । उहाँले सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने बताउनुभयो ।