२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित


117
Shares

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो ।

उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । तत्कालिन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालिन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताउनुभयो ।

समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताउनुभयो ।