
काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने की सहमति जुट्ने भन्नेमा अन्योल दखिएको छ ।
नयाँ नेतृत्व सहमतिबाट चयन गर्न प्रयास जारी राखेको भनिए पनि सहमति जुट्न सकेको छैन । सहमतिका लागि भन्दै नेताहरूले निर्वाचन प्रकिया लम्ब्याइरहेका छन् ।
मंगलबार निर्वाचन प्रक्रियालाई लम्ब्याएर सहमतिका लागि पदाधिकारीको खाका तयार गरेका नेताहरूले त्यसलाई बुधबार मूर्तरुप दिने बताएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् ।
उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता लिए पनि कालीबहादुर शाहीसहितका ५ जनाको उम्मेदवारी यथावत छ । सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ ।
उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै रहेको निर्वाचन कमिटीले जनाएको छ । सहमति नभए बुधबार १ बजेदेखि देखि साँझ ७ बजेसम्म मतदान गर्ने कार्यसूची तय गरिएको छ । नेताहरूबीच सहमति जुटेको अवस्थामा भने निर्वाचन नहुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्