
कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ ।
भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो ।
नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर दैनिक तस्करी बढे पनि सुरक्षा निकाय मौन छन् ।
भन्सारमा खटिएका सुरक्षा निकायकोे मिलेमतोमा दैनिक तस्करी बढ्दै गएको स्थानीयको आरोप छ । भारतको गौरीफन्टा नाका पार गर्ने बित्तिकै कञ्चनपुरको डोकेबजार सीमाना शुरु हुन्छ । एक सय मिटर सिमाना पर्ने कञ्चनपुरको यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोस्ट छन् । त्यसपछि शुरु हुने कैलालीमा नेपाल प्रहरी/ट्राफिक प्रहरी, भन्सार कार्यालय र सशस्त्र प्रहरीको चेक पोस्ट पनि छन् ।
यतिका सुरक्षाकर्मी र भन्सार कार्यालयका चेकपोस्ट छलेर खुलेयाम अवैध रुपमा तस्करी मौलाएको छ । पछिल्ला केही दिन यता जिल्ला प्रहरी कार्यालय कैलाली सहितको सयुंक्त प्रहरी टोलीले त्रिनगर नाका भएर नेपाल भित्रिँदै गरेको ६३ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कैलालीका कुलदीप चन्द बताउनुुहन्छ । उहाँका अनुसार चेकजाचका क्रममा सुरक्षाकर्मीलाई शंका नलागोस भनेर बिभिन्न बहानामा तस्करी गरेर सामान ल्याउने प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले यो आर्थिक वर्षको असोज पहिलो सातासम्म मात्रै १ करोड ६६ लाख बढीको अबैध समान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । सशस्त्र प्रहरीले ७४ लाख २३ हजार बराबरको अबैध समान बरामद गरी भन्सार दाखिला गरेको छ । नेपाल प्रहरीभन्दा कम राजश्व उठाएको सशस्त्र प्रहरीले सुराकी नभएकै कारण ठुलो परिमाणमा सामान बरामद गर्न नसकेको स्वीकार गरेको छ । यता जनप्रतिनिधिहरुले पनि सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढिरहँदा समेत तस्करी नरोकिनुमा आशंका व्यक्त गरेका छन् । धनगढी उपमहानगरपालिका–२ का वडाअध्यक्ष धर्मराज ओझा तस्करी नियन्त्रणका लागि आफूहरुको तर्फबाट प्रहरी र भन्सार कर्मचारीलाई गर्नसक्ने सहयोग गर्न तयार रहेको बताउनुहुन्छ ।
मुख्य नाकामा रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीहरुकै अगाडी खुलेआम तस्करी भइरहँदा सर्वसाधारणहरुले समेत सशस्त्र प्रहरीप्रति प्रश्न उठाएका छन् । नेपाली सिमामा बोर्डर आउट पोस्ट थप्ने बित्तिक्कै तस्करी नियन्त्रणको नतिजा देखिएपछि पछिल्लो समय फेरी पुरानै किसिमले तस्करी बढेको धनगढी उपमहानगरका स्थानीय बाबुराजा श्रेष्ठको भनाई छ ।
कैलालीको १ सय १ किलोमिटर भारतसँगको सीमामा गुल्म तथा बोर्डर आउट पोस्टसहित १५ वटा सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्टहरु छन् । जिल्लाको सीमा क्षेत्रमा ७ सय सशस्त्र प्रहरी खटिएका हुन्छन् । सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीबाट चौकीको नियमित गस्तीका साथै हरेक नाकामा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटाइएका हुन्छन् । तर तस्करी भने भैरहेकै हुन्छ ।
प्रतिक्रिया दिनुहोस्