९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


आत्महत्याको दर यसरी घटाउन सकिन्छ (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ २५ । ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारासहित सोमबार विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सामाजिक, आर्थिक र पारिवारिक कारणले हुने आत्महत्याका घटनालाई न्यून गर्न विभिन्न उपायहरु अवलम्बन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका छन् । जसमा २५० जना किशोर–किशोरी रहेका छन् ।

गत १० वर्षमामात्र ४२ हजार ७६६ जनाले आत्महत्या गरेका छन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार प्रतिवर्ष विश्वमा करिब ८ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ ।

प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेको मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले जानकारी दिए ।

सामाजिक, आर्थिक, पारिवारिक र मनोसामाजिक समस्यामा परेकाहरु आत्महत्याको उच्च जोखिममा हुने अध्ययनहरुले देखाएका छन् ।

यस्तै, लागुपदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिंगी, कैदी र एचआइभी संक्रमितहरुले आत्महत्या गर्नेक्रम वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ ।

पारिवारिक सहयोगको अभाव र आफ्नो कुरा खुलेर सुनाउन नसक्ने समस्याका कारण पनि आत्महत्या बढ्दै गएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठनकाअनुसार वैदेशिक रोजगारीमा हुने मृत्युमध्ये १० प्रतिशत आत्महत्या हुने गरेको छ ।

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिको कुरा सुनिदिने, उनीहरु वरिपरिको वातावरण बुझिदिने गर्‍यो भने पनि आत्महत्याको दर घटाउन सकिने मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवरले बताए ।

आत्महत्याको दर घटाउन परिवारको निकै ठूलो भूमिका हुने गर्दछ । आत्महत्या गर्नुअघि त्यस्तो व्यक्तिले १८ देखि २२ पटकसम्म आत्महत्याको प्रयास गर्ने विज्ञहरुको भनाइ छ ।

त्यस्तो अवस्थामा परिवारले उनीहरुको कुरा सुन्ने, बुझ्ने गर्ने हो भने पनि रोकथाम गर्न सकिने डा. कुँवरले बताए ।

आफ्नो कुरा अरुलाई नसुनाउने, सानो–सानो कुरालाई ठूलो बनाएर सोच्ने व्यक्तिको भावना बुझेर परिवार र समाजले नै व्यवहार गर्ने हो भने पनि आत्महत्या गर्ने दर धेरै घटाउन सकिने विज्ञहरुको राय छ ।

भिडियो हेर्नुहोस्