२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


महँगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सांसदहरुको माग


78
Shares

काठमाडौं । सांसदहरुले चाडपर्वको मुखमा महँगी अचाक्ली बढेको भन्दै महँगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले महँगी नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले महँगीको नियन्त्रण गर्दै राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले जनता कालोबजारीबाट रन्थनिनुपरेको अवस्था रहेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य आश्माकुमारी चौधरीले चाडवार्डमा जनतालाई सुविधा हुनेगरी सहुलियत प्रदान गर्न माग गर्नुभयो । उहाँले बजार अनुगमन गरी महँगी नियन्त्रण गर्न पनि माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले पनि यथाशिघ्र बजार अनुगमन गर्न माग सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य उर्मिला माझिले मूल्यवृद्धिको आतंक कम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य असिम साहले सरकारले खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेर पनि नदिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतले पेशाकर्मीहरुलाई सरकारले शान्ति, सुरक्षा दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सिंहदरबारस्थित नेपालको पहिलो संसद भवन जिर्ण अवस्थामा रहेकाले पुनःनिर्माण गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नयाँ संसद भवनमा संसद बैठक कहिले बस्छ भनेर प्रश्न समेत गर्नुभयो ।